६, वैशाख , काठमाडौं । ईएनटी तथा राइनोप्लास्टी सर्जन डा. नैन बहादुर महतोले राइनोप्लास्टी तथा फेसियल एस्थेटिक्स क्षेत्रमा नेपाल स्वास्थ्य पर्यटन (मेडिकल टुरिज्म) को भरपर्दो गन्तव्य बन्ने प्रसस्त सम्भावना रहेको बताएका छन् । आज खबर जेन डट कम का प्रतिनिधिहरु सित गरिएको अन्तरक्रिया कार्यक्रममा उनले उक्त विचार ब्यक्त गरेका हुन्। गुणस्तरीय सेवा, तुलनात्मक रूपमा कम लागत र बढ्दो दक्षताले नेपाललाई यस क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन सक्ने आधार तयार भएको उनको दाबी छ ।
अन्तरक्रियाका क्रममा आफु यस समस्याको भुक्तभोगी भएको , बाल्यकालमै भोग्नुपरेको नाकसम्बन्धी स्वास्थ्य समस्याले आफुलाई राइनोप्लास्टीतर्फ आकर्षित गरेको र सोही प्रेरणाले आफुले यस बिषयमा अन्तर्राष्ट्रिय स्तरको सीप र अनुभव समेत हासिल गरेको बताए ।
हाल केएमसी कलेज, सिनामंगलको नाक, कान, घाँटी (ईएनटी) विभागमा सहप्राध्यापकका रूपमा कार्यरत डा. महतोले राइनोप्लास्टी तथा फेसियल एस्थेटिक्स क्षेत्रमा देश बिदेशका गरि १५०० भन्दा बढी सफल शल्यक्रिया गरिसकेको दाबी गरे । उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी विदेशमा बस्ने नेपाली (एनआरएन) रहेका छन्। नेपालमा उपलब्ध सेवा गुणस्तरीय, सुरक्षित र तुलनात्मक रूपमा सस्तो भएकाले अन्तर्राष्ट्रिय बिरामी नेपालतर्फ आकर्षित हुने सम्भावना उच्च रहेको उनको तर्क छ ।
डा. महतोका अनुसार राइनोप्लास्टी नाकको आकार, बनावट तथा सासप्रश्वाससँग सम्बन्धित समस्याको सुधार गर्ने संवेदनशील शल्यक्रिया हो। “यो पूर्ण रूपमा नाक परिवर्तन गर्ने होइन, सुधार गर्ने प्रक्रिया हो,” उनले भने।
यद्यपि, राइनोप्लास्टी जस्तो संवेदनशील शल्यक्रियामा सानो त्रुटिले पनि गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले उच्च दक्षता र पूर्वाधार आवश्यक पर्ने उनको भनाइ छ। यसका लागि सरकारले विशेषीकृत अस्पताल सञ्चालन तथा नीतिगत सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको उनको बुझाइ छ।
डा. महतोले सही जानकारी, योग्य चिकित्सक र उचित परामर्शका आधारमा उपचार गरिएमा यसले बिरामीको जीवनस्तर र आत्मविश्वास दुवैमा सकारात्मक प्रभाव पार्ने बताए ।