१६ ,मङ्सिर , काठमाडौं। स्थापना भएको छोटो समयमानै एसिया प्यासिफिक स्कुल,धापासी ,काठमाडौंले सिकाइ उपलब्धिमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ। विद्यालयले योग, आचरण, आधुनिक प्रविधि तथा सीपयुक्त व्यावहारिक शिक्षा र अभिभावक–परामर्शलाई सिकाइको केन्द्रमा राख्दै राजधानीकै एक उदाहरणीय तथा प्रगतिशील शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहार, संस्कार, अनुशासन, सीप र प्रविधिसँग जोडेर अघि बढाएको ‘समग्र शिक्षा’ अवधारणाले विद्यार्थी, अभिभावक र शिक्षकमाझ सकारात्मक परिवर्तनको अनुभूति गराइरहेको छ।
हाम्रो रिपोर्टिङ टोलीले विद्यालयमा पुगेर “यो विद्यालय अरूभन्दा के कुरामा फरक छ?” भन्ने जिज्ञासा राख्दा एशिया प्यासिफिक स्कुलका शिक्षा निर्देशक राजन अधिकारीले स्पष्ट शब्दमा भने, “हामीले सिकाइ प्रक्रिया नै परिवर्तन गरेका छौँ। त्यसको परिणाम विद्यार्थीको व्यवहार, आत्मविश्वास र उपलब्धिमा प्रत्यक्ष देखिएको छ। विद्यालयले जीवन शिक्षा र आचरण विकाससम्बन्धी पुस्तकसमेत प्रकाशन गरेर विद्यार्थी - विद्यालय -अभिभावकको भूमिका र सकारात्मक सिकाइ वातावरणबारे जागरूकता फैलाउँदै आएको छ।”
विद्यालय अवलोकनका क्रममा कक्षाभित्रको शान्त वातावरण, अनुशासित विद्यार्थी र उद्देश्यपूर्ण गतिविधिले शिक्षामा आएको परिवर्तन स्वतः अनुभूत हुन्थ्यो। विद्यालयका प्रिन्सिपल रमेश घिमिरेका अनुसार, “हामीले शिक्षालाई कक्षा र किताबभित्र मात्र सीमित राखेनौँ। सिकाइ समयको एक तिहाइ हिस्सा कक्षाभन्दा बाहिर लगेर व्यवहारमा रूपान्तरण गर्ने प्रशिक्षण दिन्छौँ, जसले विद्यार्थीलाई जीवनका वास्तविक चुनौती सामना गर्न सक्षम बनाउँछ।”
अन्तर्राष्ट्रिय योग प्रतिस्पर्धामा विद्यार्थीको सफलता
विद्यालयमा हरेक बिहान नियमित योग सत्र सञ्चालन गरिन्छ। यसले विद्यार्थीको आत्मअनुशासन, मानसिक स्पष्टता र एकाग्रतामा उल्लेखनीय सुधार ल्याएको प्रिन्सिपल घिमिरे बताउँछन्। “पहिले ध्यान केन्द्रित गर्न कठिनाइ हुने विद्यार्थीहरू अहिले अन्तर्राष्ट्रिय योग प्रतियोगितासम्म पुगेका छन्,” उनले भने। पछिल्लो वर्ष विद्यालयका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय योग प्रतिस्पर्धामा पदक र प्रशंसा पत्र प्राप्त गर्नुले विद्यालयको ‘योग–शिक्षा मोडेल’ प्रभावकारी भएको प्रमाणित गरेको दाबी विद्यालयको छ।
‘त्रिकोण मोडेल’ : अभिभावक–शिक्षक–विद्यार्थी सहकार्य
विद्यालयले शैक्षिक यात्रालाई शिक्षक–विद्यार्थी सम्बन्धमा मात्र सीमित नराखी मासिक अभिभावक–परामर्श, मनोपरामर्श सत्र र व्यवहार सुधार कार्यक्रममार्फत घर–विद्यालय सम्बन्धलाई सुदृढ बनाएको छ। एक अभिभावक भन्छन्, “यहाँ हाम्रा छोराछोरीले किताब मात्रै होइन, सकारात्मक सोच, जीवन–सीप र आत्मविश्वास सिकिरहेका छन्, जसको प्रभाव घरमै देखिन्छ।” विद्यालयले अभिभावकका लागि निःशुल्क योग र ध्यान कक्षा सञ्चालन गरेर सहकार्य र विश्वासलाई थप मजबुत बनाएको छ।
विद्यार्थीहरू पनि विद्यालयले अपनाएको सिकाइ विधि र आफुले हासिल गरेको उपलब्धी प्रति सन्तुष्ट नै देखिन्छन्। एसिया प्यासिफिक स्कुलको सिकाइ प्रक्रियाका बिषयमा सोधिएको हाम्रो जिज्ञासामा एक विद्यार्थीले आफ्नो अनुभव सुनाउँदै भने, “पहिले पढाइ बोझ जस्तो लाग्थ्यो, ध्यान केन्द्रित गर्न गाह्रो हुन्थ्यो। तर योग, परामर्श र व्यवहारिक सीपका कारण अहिले सजिलै ध्यान दिएर सिक्न सक्छौँ। पढ्न र सिक्न हामी उत्साही छौ। ”
समग्र शिक्षाको नयाँ व्याख्या
प्रिन्सिपल रमेश घिमिरेका अनुसार विद्यालयले शैक्षिक उपलब्धिसँगै आचरण, जीवन–सीप र प्राविधिक ज्ञानलाई समान महत्व दिन्छ। “योग, अध्यात्मदेखि विज्ञान र प्रविधिसम्म समेटिएको शिक्षाले विद्यार्थीको व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्याएको छ। सिर्जनात्मक, अनुशासित र आत्मविश्वासी विद्यार्थी उत्पादन गर्नु हाम्रो लक्ष्य हो,” उनले बताए।
विद्यालयले सिकाइको ‘एक तिहाइ समय कक्षा कोठा भन्दा बाहिर / लर्निङ्ग वियोंड –द–क्लासरुम’ (Learning beyond the Classroom) पेडागोजी अपनाउँदै नलेज -थ्रु -स्किल -इन -टु विहेवियर Knowledge through Skill into behavior दर्शनका आधारमा सिकाइ प्रभावकारिता बढाएको छ। विद्यालयले नौ वर्षका बालबालिकालाई समेत एडभान्स रोबोटिक्स र कोडिङजस्ता भविष्य–उन्मुख सीप सिकाइलाइ प्राथमिकताका साथ अगाडी बढाइएको र बालबालिकाले समेत उच्च सफलता हासिल गरेका छन्। यो पनि यस विद्यालयको अर्को विशेषता हो,प्रिन्सिपल घिमिरेको दाबी छ।
हाम्रो टोलीको समग्र अवलोकनमा, एसिया प्यासिफिक स्कुलले छोटो अवधिमै विद्यार्थीको अनुशासन र आत्मविश्वासमा उल्लेखनीय वृद्धि, योगमार्फत अन्तर्राष्ट्रिय सफलता र अभिभावक–विद्यालय सम्बन्धलाई मजबुत बनाउँदै राजधानीकै प्रगतिशील शैक्षिक संस्थामध्ये आफूलाई एक नमुना संस्थाको रूपमा स्थापित गर्न सफल भएको देखिन्छ।